पशुबली निरपराध प्राणीको हत्या र अपराध कर्म हो
समाजमा प्रचलित बलि प्रथा संभवत: वैदिक सनातन धर्मावलम्बीको सबैभन्दा घृणित पक्ष हो बलिको अपव्याख्या गर्ने केहि पाखण्डी मांसभक्षी गुरु भनाउदा हरु बाट कालान्तर पूर्व देखि प्रचलनमा ल्याएको कुप्रथा मात्र हो यथार्थमा निरपराध प्राणीको हत्या गरेर कुनै पनि धर्म हुदैन यो केवल कुकर्म मात्र हो ।
काक बली, स्वान बलि, गोग्रास बलि, पिपिलिका बलि, बलिवैश्वदेव, क्षेत्रपाल बलि, कुस्माण्ड बलि, छाग बलि, जस्ता धेरै बलि को प्रथा शास्त्रमा उल्लेख गरिएको छ यदि कसैले कागको कुकुरको नाममा बलि चढाउदा त्यस प्राणिको हत्या गर्दैनन् अपितु खान दिन्छन् अर्थात् बलिको अर्थ हो उपहार ससम्मान पूर्वक खान दिनु "बलिं श्रीतस्करात् "न कि बध गर्नु वैदिक शास्त्र र पौराणिक ग्रन्थमा मांस यज्ञको मांस भक्षणको सर्वत्र निन्दा गरेको छ । मनुस्मृति ५/३८ मा
यावन्ति पशुरोमाणि तावत्कृत्वोहि मारणम ।
वृथा पशुघ्न: प्राप्नोति प्रेत्य जन्मनी जन्मनी ।।
अर्थात पशु बध गर्ने व्यक्ति त्यो मृत पशुको शरिरमा भएका रौं को जति संख्या छ त्यति नै जन्म नरकीय यातना भोग गर्ने छ र प्रत्येक जन्ममा त्यो पशुघाती लाई हत्या गरिने छ ।
यस्तै प्रकार महाभारतको अनुशासन पर्वको ११५/४७ मा भनिएको छ ।
इज्यायज्ञश्रुतिकृत्यैर्योमार्गेरबुधोऽधम: ।
हन्यान्जन्तून् मांसगृध्नु स वै नरकभाङ् नर: ।।
देवी देवताको पूजा यज्ञ गर्दा वैदिक विधान मानेर मांस लोभी हरु जीव हत्या गर्दछन् भने
ती मूर्ख अज्ञानी आततायी हरु अवस्य नरक जान्छन् । विष्णु पुराणको ३/१८/२७ मा एउटा महत्वपूर्ण उदाहरण स्पष्ट लेखिएको छ कि ? यदि देवता देवीलाई यज्ञमा बलि को नाममा पशु मारेर दिंदा स्वर्ग प्राप्त हुने भए आफ्नो बाबु मरेपछि त्यसैको मासु हवन गर्दा हुँदैन र ? " निहतस्य पशोर्यज्ञे स्वर्गप्राप्तिर्यदीष्यते ।
स्वपिता यजमानेन किन्नु तस्मान्नहन्यते ।।
शास्त्रमा आमिष पदार्थ नखाने व्यक्तिलाई ऋषि को संज्ञा दिएको छ याग्यवल्क्यस्मृति को
७/१८० मा भनिएको छ " सर्वान् कामानवाप्नोति अश्वमेधफलं तथा ।
गृहेऽपि निवसन्विद्वान्मुनि मांसविवर्जनात् ।।
अर्थात जो व्यक्ती विशेष मांस भक्षण गर्दैनन् तिनीहरु गृहस्थी भएर पनि सन्त हुन् ऋषि हुन्
तसर्थ उनीहरुको संपूर्ण कामना पूर्ति हुनुको साथै अश्वमेध यज्ञको फल प्राप्त हुन्छ ।
मांस भक्षण मद्यपान जस्तो वस्तु बाट यदि सिद्धी प्राप्त हुने भए जाण रक्सी खानेले मातेर सिद्धी पाउँछन् त ? त्यस्तै मासु खाँदा पुण्य प्राप्त हुने भए काग, गिद्ध, चील, स्याल, कुकुर हरु स्वत: परमार्थ प्राप्त गर्थे होला हेर्नुहोस् " कुलार्णव तन्त्र को २/११/७८ मा ।
मद्यपानेन मनुजो यदि सिद्धिं लभेत वै ।
मद्यपानरता सर्वे सिद्धिं गच्छन्तु पामरा ।।
मांसभक्षणमात्रेण यदि पुण्या गतिर्भवेत् ।
लोके मांसाशिन: सर्वे पुण्यभाजो भवन्ति हि ।।
चाणक्यनिति ५/२२ अनुसार मासु खाने मद्य पान गर्ने अज्ञानी पशुरुपी हरु को भारले पृथ्वी लाई पीडा भएको हुन्छ ।
मांसभक्षै सुरापानैमुर्खचाक्षरवर्जितै ।
पशुभि: पुरुषाकारै भाराक्रान्तास्ति मेदिनी ।।
यदि कसैले मांस भक्षण बाट आयु, आरोग्य, बल, तुष्टि, पुष्टि, बढाउछ भन्ने भवना छ भने त्यो केवल एउटा निरापद भ्रम मात्र हो मासु खानाले विभिन्न रोग र अल्पायु हुन्छ भन्ने कुरा शास्रमा स्पष्ट उल्लेख छ । ब्रह्मपुराण १०७/३४ मा
न मांसमायुषो हेतु नारोग्यस्य न चौजस ।।
यसै सन्दर्भमा मनुस्मृति ५/५० अनुसार जो व्यक्ती पिशाचको जस्तो मांस खादैन भने त्यो व्यक्ति इह लोकमा प्रतिष्ठित हुन्छ र त्यो कहिले रोगी हुँदैन ।
न भक्षयति यो मासं विधिं हित्वा पिशाचवत् ।
स लोके प्रियतां याति व्याधिभिश्च न पिड्यते ।।
कतै कसैले यस्तो पनि भनेको सुनिन्छ कि अर्काले मारेको मासु खाँदा दोस लाग्दैन तर शास्त्रको यथार्थ यस्तो छ मनुस्मृति ५/५१
अनुमन्ता विशसिता निहन्ता क्रय विक्रयी ।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातका: ।।
पशुमार्न सल्लाह दिने, मार्ने, मारेर टुक्रा बनाउने, मासु किन्ने, बेच्ने, पकाउने, पस्किने, खाने
इ सबै आठ प्रकारका हिंशक हुन र इ आठै लाई पशुहत्याको पाप लाग्छ ।
कसैले भन्ने गर्छन् मासु खाँदा मासु बढ्छ हुनसक्छ यो सत्य नै होला तर के आफ्नो मासु बढाउन अर्काको हत्या गर्नु उचित हो त ? हेरौं महाभारत अनुशासन पर्व ११६/७ मा
स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति ।
नास्ति क्षुद्रतरस्तस्मात् स नृशंसतरो नर: ।।
त्यो व्यक्ति अत्यन्तै निर्दयी हो जो परजीव हिंशा द्वारा आफ्नो शरीरमा मासु बढाउन चाहन्छ । अर्को श्लोकमा भनिएको छ आफ्नो छोराछोरी को मासु होस् या कुनै अन्य जीवको आखिर मासु त मासु नै हो तर यो ध्रुवसत्य जानेर पनि मानिस स्वादको बसमा मासु खान्छन् भने ती सबै मनुष्यमा अधम हुन् ।
पुत्रमांसोपमं जानान् खादते योऽविचक्षण: ।
मासं मोहसमायुक्त: पुरुषसोऽधम: स्मृत: ।।
मांस भोगी व्यक्तिको प्रवृति को विषयमा पनि शास्त्रोक्त वचन यस्तो छ वास्तवमा यो श्लोक बाट विज्ञान परक अनुसन्धान भएको बुझिन्छ ।
यो यस्य मांसमश्नाति तस्य बुद्धिस्तथा भवेत् ।
आहारेणैव संसारे बुद्धि: सञ्जायते क्रमात् ।।
संसारमा मनुष्यको बल बुद्धि पराक्रम आदि सबै आहार बाट हुनेगर्छ जो मनुष्य जुन पशुको मासु खान्छ त्यो व्यक्तिमा त्यो पशुगत प्रवृत्ति हुने गर्छ । शास्त्रमा यो पनि उल्लेख गरिएको छ यो जन्ममा जुन मनुष्य द्वारा प्राणीको प्राण हरण गरिन्छ निश्चय नै अर्को जन्ममा त्यो प्राणी द्वारा उसको हत्या गरिन्छ ।
येषां मासं नरोऽस्नाति तेऽन्यजन्मानि तं नरम् ।
पशुरुपं मारयन्ति निर्दया निर्दयं तथा ।। वेदानुशासनम् ११३-
श्रीमद्भागवत चतुर्थ स्कन्ध मा राजा प्राचिनवर्हि ले अज्ञानता बस् पशुयाग गरे अन्ततः देवर्षि नारद द्वारा निरपराध प्राणी हत्या गरेर याज्ञिक कर्म हुदैन राजन् यो विनाश र प्रलयात्मक यज्ञ बन्द गर अन्यथा कैयौं जन्म पर्यन्त इ जीव हरु द्वारा तिम्रो हत्या हुने छ भनेर देवर्षि ले आकाशमा आफ्नो यौगिक शक्ति द्वारा ती मृत प्राणी को स्वरुप प्रत्यक्षिकरण गरिदिनुभयो ।
नारद उवाच
भो भोः प्रजापते राजन्पशून्पश्य त्वयाध्वरे ।
संज्ञापिताञ्जीवसङ्घान्निर्घृणेन सहस्रशः ।। भा.
अन्तत: राजा प्राचिनबर्हिले त्यो हिंशात्मक यज्ञ छोडेर परमार्थिक यजन् द्वारा दिव्य मोक्ष प्राप्त गर्नुभयो ।
उपरोक्त शास्त्रीय प्रमाण को आधारमा मांस भक्षण एउटा दानवीय संकिर्ण मनस्थिति मात्र हो भन्ने देखिन्छ त्यसमा बलिको नाममा गरिने हत्या त अझै जघन्य अपराध हो । इश्लामको मस्जिदमा ईशाइ को चर्चमा सिख को गुरुद्वारामा बौद्ध को गुम्पामा कहिले यस्तो जघन्य हत्या हिंसा हुदैन तर संसार कै पुरातन मानिने गुरुतर धर्म सनातन वैदिक धर्मावलम्बी का मठ मन्दिरमा
कत्तल खाना बनाउनु यो भन्दा ठूलो अर्को कुकृत्य सायद अपराधको दुनियाँमा अर्को छैन होला ।
प्राणी हरु को हत्या हिंसा बाट आज धर्ती आक्रान्त छ ती लाखौं पशुको चीत्कार कारुणिक क्रन्दन सुनेर पनि जगतको गुरु प्राणी मनुष्य कहिले दुखी र दयालु हुन सकेन सायद यो भन्दा ठूलो विडम्बना के नै छ र ? वैदिक काल देखि भगवान बुद्धको अहिंसा कालखण्ड सम्म आइपुग्दा पनि मानव सभ्यतामा अहिंसा र दयाको नैतिक चेतना न आउनु सायद आजको हत्या हिंसात्मक परिस्थिति हो । यो प्रवृति को माध्यमले सायद अब छिट्टै हाम्रो विनाश नहोला भन्न सकिन्न ।
प्राणी हिंसा नगरौ आफू पनि बाँचौं र अरु लाई पनि बाँच्न दिऔ ।
संवत् २०७६ सालको शुभ बढा दशै को उपलक्ष्यमा सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनी हरु मा हार्दिक मंगलमय शुभकामना ।
२०७६/०६/१८ शनिबार आश्विन शुक्ल सप्तमी ।